
मनिषा भट्टरार्ई,क्यानाडा
नेपालीहरुको महान चाड दशैँ सानैदेखि किताबमा पढ्दै र मनाउदै आएको महान धार्मिक र सामाजिक उत्सवका रुपमा चिनिन्छ । एकता, भातृत्व, बन्धुत्व र माङ्ग्ल्यको प्रतिक भनेर दशैँ हामी सबैको मनमा ओतप्रोत भएर रहेको हुन्छ । दहि, अक्षता, जमरा र फूलहरुसंगै मान्यजनको आशिर्वादले गुञ्जने गर्दछ दशैँ “दशैँमा त जसरि भए पनि आएस है“ बुढा बुढी भएका बाउ आमाको थर्थराउदो आवाज परदेशिएका छोराछोरीका कानमा गुन्जिरहन्छ । दशैँ नजिकिदै जाँदा “चार अछेता निधारमा नटासी कसरी खानु भन्दै लगाईमाग्ने र लगाईदिने पर्खेर बसेका हुन्छन यहि दशैँमा । दशैँ आयो, खाउला पिउला, नयाँ नाना लगाउला भन्ने केटाकेटीको कुरा हामी धेरै नेपालीहरुको यथार्त हो । बाह्र महिना, २४ घण्टा काममा धसिएर, आधा पेट खानेका लागि पनि एक जोर राम्रो लगाउने र मिठो खाने बहाना हो दशैँ ।
हरेक वर्ष यता क्यानाडामा पनि रंगीचंगी पातहरुको आगमनसंगै मन रंगीन हुन् थाल्छ । बिहानको चिसो र दिउसोको मीठो घामले दशैंको प्यारो सन्देश लिएर आए झैँ लाग्छ । हामी सबैले बिशेष गरी दशैं सानैदेखि मनाउदै आएकाहरुका लागि दशैँ महत्वपूर्ण नै लाग्छ । दशैंको सबैको आआफ्नै मिठा कथा र कसैको बिर्सन नसकिने व्यथाहरु पनि हुन्छन । दशैँको रातो टिका र जमराले आज पनि उत्तिकै आकर्षित गर्छ जति हिजो गथ्र्यो । शायद यो पनि हिजोको बितेको दशैँ कै प्रभाव होला ।
हजुरआमा भन्ने गर्नुहुन्थ्यो “आ यो दशैँ पनि केटाकेटी हुँदा पो रमाइलो, म बुढीलाई के रमाइलो“ छक्क पर्थे, हजुरआमालाई यस्तो राम्रो दशैँ पनि किन नरमाइलो लागेको होला भनेर? तर बिचरी हजुरामाको कामको भ्याई नभ्याई। अरु भन्दा बिशेष पुजापाठ, केटाकेटी हुदाँ र ठुलो भएपछी पनि छोरी भएर दशैँ मनाउनु र बुहारी भएर मनाउनु पक्कै फरक छ । हाम्रो सामाजिक संरचनाले गर्दा चाडपर्व अझै पनि कतिपय महिलाहरुको लागि कामको बोझ बन्ने गरेको सुनिन्छ । आखिर चाडपर्वमा अधिकांस पुरुषहरुले झैँ अधिकांस महिलाहरुले पनि परिवारमा सगै बसेर पनि “बिन्दास“ भएर दशैँ मनाउने कुनै समय पनि आउला । यसको छुट्टै बहस छ । हजुरआमाको त्यो मर्म आफुले नभोगे पनि अहिले बुझ्दैछु ।
५,६ बर्षको उमेरदेखि लगभग १७, १८ वर्षको उमेरसम्म धेरै जसो दशैँ मुलघर अथार्त हाम्रो सामाजिक संरचना अनुसार बुवाको घर दमकमा मानियो । त्यसपछिका केहि दशैँहरु काठमाडौँमा बिते, काठमान्डूको रमाइलो दशैको बिसेष छुट्टै कथाहरु छन्। बिगत १२,१३ बर्षदेखी क्यानाडामा बित्दैछन। सबै ठाउँका दशैँले आआफ्नै सम्झनाहरु बोकेका छन्। विशेष गरी दमकमा ३५,४० जनाको परिवारसँग मनाउने गरेको दशैको सम्झनाहरु भने अझैसम्म मनमा बसेका छन् । हजुरआमाले भने झैँ साच्चै नै केटाकेटी हुँदा दशैँ धेरै रमाइलो लाग्ने भएर हो कि ? दशैँको भेला दमकमा हजुरबुवाको देहावसान पूर्व २०५५ को दशैँसम्म निरन्तरता रहेको थियो । हजुरबुवाको देहावसानपछि दशैँ भेलाको क्रम भंग भयो । त्यसपछि काकाहरु कोहि विदेशतिर अनि काठमान्डूमा बस्दा सबैको आ आफ्नो घर व्यवहार बढ्दै गए पछि मुलघर दमकमा सबै भेला भएर दशैँ मनाउने क्रम अलि कति कम भयो ।
दमकमा दशैं मनाउन जानु हामी काठमान्डूमा हुर्केकाका लागि रमाइलो खबअबतष्यल हुन्थ्यो। प्रायजसो घटस्थापनाको बेला वा १,२ दिनपछि दमक घर पुगिन्थ्यो। काठमान्डूबाट नाईट वसमा साझ ५ बजे चढेदेखि त्यो दशैँ मनभरी लागिसक्थ्यो । कलंकीको जाम काटेपछि बस हुइँकिन्थ्यो तिब्र गतिमा । थानकोट काटेपछि नागबेली नौबिसे पुग्दा अलि अलि अध्यारोमा बत्तिबाल्दै नागबेली बाटोमा उकालो लाग्दै गरेका ठुला ठुला ट्रक बसहरु छेउबाट जाँदा असाध्यै डर लाग्थ्यो। मुग्लिनको त्यो होटेलको भात र सानो कचौरामा चारवटा टुक्रा कुखुराको मासुको स्वाद गजबको मिठो लाग्थ्यो। त्यसपछी भने एकैपटक बिहान दमक बजारमा पुगेको पत्तो हुदैन थियो । दशैँको अर्को आकर्षण रिक्सा यात्रा हुन्थ्यो। काठमाडौँमा टुरिस्टले कहिलेकाँही चढेको देखिने रिक्शा त्यहाँ सजिलै चढ्न पाइन्थ्यो । त्यसबेलाको प्रसिद्ध मकालु यातायातले धेरैजसो बिहान ७,८ बजे नै दमक बजार पुरयाउँथ्यो । बिहानैको बजार सुनसान पनि हुदैन थियो, कतै स साना चिया पसलमा चिया पाक्दै, अनि साना समुहमा मानिसहरुको गफगाफ, कतै लुगा कपडाका दोकानहरु खोल्दै, बाटोभरि सुनिरहने पानीको ट्युबेलको आवाज,ढिलो रफतारको रिक्सामा बस्दा बाटोभरी चिनेका मान्छेहरुले हल्लाउने हातहरु देख्दा आफ्नोपनको अनुभव हुन्थ्यो । “ओहो ल ठुलाका परिवार पनि आइपुगे है, लु है अब सात जानै दाजुभाई परिवार सहित भेला भयौ. भरसक यो दशैँ मा जहाँ भए पनि जस्तो भए पनि भेला भएर रमाइलो गर्ने गरोउ “हजुरबुवा सधै घर पुग्ने बित्तिकै भन्ने गर्नुहुन्थियो । सात छोरा र पाँच छोरीका धनी हजुरबुवा सबैजना भेला हँुदा असाध्यै रमाउनु हुन्थ्यो ।
काठमाडौँको भिडबाट २,४ दिन खुला स्वच्छ हावामा सास फेर्न पाउँदा मनै प्रसन्न हुन्थ्यो। त्यसमाथि पनि निस्फिक्री हिड्न पाउन अर्कै मज्जा हुन्थियो। वरिपरी कदम, बडहर , समी , साल , सिसौका रुखहरुले प्रचण्ड गर्मीमा पनि सितल पार्थे । त्यसबाहेक लिची, तितरी, कटहर सुपारी नरिवल, अम्बा, बयर, मेवा आपका रुखहरु हाम्रा प्रिय थिए। ६,७ दिनहरु दमकमा कसरी बित्थे पत्तो हुदैन थियो । बिहान ४ बजेदेखि नै चराहरुको चिरिबिरी आवाज, बिहानको ठिक्कको हावाले हल्लाउने रुखका पातहरुको सुसेली, घरका बुहारीहरुको खस्र्याक खुसरुक, हजुरआमाले पुजा गरेको आवाज रमाइलो लाग्थ्यो। बिहानदेखि खानु, घरिघरको पछाडी दारिम झारेर टोक्नु, मेवा झारेर खानु ,काँचो अमिलो अमला र बयर टोक्नु, दात खिर्यौने अमिलो तितरी खानु, अम्बा आधा टोकर फाल्नु, स साना खेतका आलीमा दौडिनु, आफु भन्दा साना भाई बहिनीका साना कुराका ठुला झगडा हेर्नु, मिलाउनु,ढिकी कुट्न, अनि साँझ खाना खाइसकेपछि सबै परिवार करीब २५,३० बसेर हाँस्ने र हँसाउने कुरा गर्नु, दशैँको माहोल नै त्यहि हुन्थ्यो। त्यसबाहेक कहिले नसकिने जन्तरे काकाको हम जायेगको जोक्स, कान्छा काकाको ग्वालिको कोठा, हजुरबुवाले मोही पार्दै गर्दा निस्केको नौनीको डल्लाको स्वाद, हजुरआमाले पकाएको खीर, ढिकीमा कुटेको चिउरा, दमकको हाट बजार, कान्छी फुपूले बेस्सरी मचाउने रोटे पिङ्ग, आमा, काकीहरुले पहिलो लटमा नपुगेर दोस्रो पटक पकाएको गुन्द्रुक र भात, यस्तै अरु पनि धेरै सम्झानाहरुले आज पनि दशैँ रमाइलो बनाउँछ । धेरै जसो दशैमा हाम्रो मुख्य आकर्षण नै खसी काट्ने हुन्थ्यो। दशैं खसी काट्ने कार्यक्रम एउटा उत्सव थियो घरमा । हामि चाहिँ रमिते हुन्थेउ । घरको नियम थियो, मासु काटेर भान्सामा भित्रिएपछि छोराहरुले भान्सामा पकाउनु पर्ने । हजुरबुवा आफै लागेर दस बाह्र किलो मासु पाक्ने ठूलो फलामे कराई दाउराको आगो चुलोमाथि बसाउनु हुन्थ्यो। हजुरबुवाको मासु पकाउने आफ्नै तरिका थियो । करीब २, ३ घण्टासम्म सानो आगोमा भुट्दै मासु चलाउदै पानी हालेर बिस्तारै पकाएको मासु असाध्यै मिठो हुन्थ्यो। हजुरबुवा आफै सबैलाई लहरै बसाएर आफैले पस्केर खुवायेपछी बल्ल आफु खानु हुन्थ्यो । एवंरीतले सप्तमीदेखि सुरु भएको खसीको कार्यक्रम दशमीसम्म निरन्तर रहन्थ्यो। ४ दिनमा ४ वटा खसीसम्म काटिन्थ्यो । एक छाक कतिमा ४० जनाले खाना खाने गथ्यौं । समय न हो अहिलेको समयमा बुवा, काकाहरुले मासु लगभग मासु खान छोड्नुभाको छ । १,२ दिनपछि हामि २, ३ जना केटाकेटी भने लुसुक्क हजुरामा र काकीको छुट्टै शाकाहारी भान्सामा खाना खान जान्थ्यौं । नवमी दिन भने अर्को रमाइलो दिन हुन्थियो। सबै आमा, काकीहरु र भाइ बहिनिहरुसंग दमक बजार घुम्न जाने, बाकि रहेको दशैँको किनमेल, बजारको समोसा, चटपटे खादै निस्फिक्री दमक बजार घुम्नु को मजा नै अर्को थियो। टिकाको दिन रमाइलो पैसाको लाग्थ्यो, अनि नरमाइलो दशैको रमाइलो सकिने भयो भनेर लाग्थ्यो । बिहानै उठेर नुहाईधुवाई गर्ने, नयाँ लुगा लगाउने र टिकाको लागि तयार भएर बस्ने हाम्रो काम हुन्थ्यो। पैसा जम्मा हुने अर्कै उत्साह हुन्थ्यो। टिकाको कार्यक्रम सुरु हुन्थ्यो । हामि तेस्रो पुस्ता त पालो पर्खिदा पर्खिदा हैरान हुन्थ्यौं । बुवा काकाहरु, काकीहरु, हजुबुवा हजुरामा सबैले टिका लगाइदिदा त निधार वल्लो छेउदेखि पल्लो छेउ पुरै भरिन्थ्यो। टिकाको दिन भने दहि चिउरा र केरा मुख्य खानेकुरा हुन्थ्यो। घरमा टिकाको कार्यक्रम सकिएपछि सबै जना काका काकीको परिवार , हाम्रो परिवार मामाघर तिर लाग्थ्यौ। मामाघरको रमाइलोको अर्को कथा छ । हामि मामाघर लागेपछि फुपू हरु पनि परिवार सहित माइत आउने क्रम हुन्थ्यो । आफ्नै पुस्ताकी कान्छी फुपू बाहेक अरु फुपुहरु भेटघाटको अवसर कम हुन्थ्यो। नयाठाउँ नयाँ परिवेशमा पुगेपछि हामी कतिले त्यहिको वातावरणमा समायोजित हुने क्रममा कति त्यो कुराहरु गुमाउछौ। आजको समयमा हिजोको कुरा सम्झिनु सपना जस्तो लाग्ने रहेछ । आज यहाँ बसेर पनि त्यो बितेको दशैको सुवास जसरी आउँछ त्यसरी नै भोलिका पुस्ताले दशैँ सम्झेलान त? हामि बिशेष गरी विदेशमा रहेकाका लागि आउने नयाँ पुस्तामा दशैँ कसरी जीवित राख्ने सोच्न जरुरी छ । नयाँ पुस्तालाई दशैँ बुझाउन पहिले आफुले पनि राम्रो संग बुझ्न सिक्न जरुरी छ । समय परिवर्तनशील छ, विज्ञानका नयाँ नयाँ सुत्रहरु आविस्कार भैसके, प्रविधिको हिजो र आज फरक छ । त्योसँगसँंगै शायद अर्को पुस्तामा देखिने परिवर्तन पनि स्वाभाविक नै हो कि? मेरी हजुरामा ले एक महिनादेखि मनाउना सुरु गर्ने दशैँ आमाको पालो सम्म आइपुग्दा नौ दिन भयो त्यसपछि मेरो पालो सम्म दिन दिन सम्तामी देखि । त्यसमाथि पनि विदेशमा चाडपर्व धभभपभलम मा पर्यो भने मन खोलेर मनाउना पाउने नत्र त उही एक दिनको दशैँ । तर जस्तै जहाँ भए पनि दशैँ आउँदा मन त्यसै त्यसै खुसि हुन्छ ।
कुसलाक्ष्येम कल्याण बर्साउदै,
सबैको घर दैलो उज्यालो पार्दै
मुहारमा मुस्कान ल्याउदै, मनमा शान्ती छर्दै,
जसरी हिजो आउँथ्यौ, हरेक पटक तिमी त्यसैगरी आऊ दशैँ
तिमीलाई स्वागत छ ।