• शनि, अशोज २५, २०८२
    Sat, October 11, 2025
  • शनि, अशोज २५, २०८२
    Sat, October 11, 2025
Articles
December 12

वृद्धावस्था : चिन्ता र चासो

Author
डा. तुलसी भट्टराई

गात्रं संकुचति गतिर्विगलिता भ्रष्टा च दन्तावलि ः
दृष्टि नश्यति बर्धते वधिरता वक्त्रं च लालायते
वाक्यं नाद्रियते च बान्धवजनैः भार्या न सुश्रूषते
हा कष्टं पुरुषस्य जीर्ण वयसः पुत्रो शँप्यमित्रायते ।

“शरीर जताततै चाउरी परेको छ, थर्थर गर्दै हिडँछ, दाँतहरु झरिसकेका छन् । आँखा देखिदैन, कान सुनिदैन । मुखबाट राल चुहिन्छ । आफ्ना दाजुभाइ, कुलकुटुम्बले समेत आफ्नो कुरो सुनिदिदैनन् । पत्नीले पनि सेवा सत्कार गर्दिन । छोराले समेत आदर सम्मान गर्न छोडेको छ । कठैवरा वृद्ध पुरुषको जीवन कति कष्टमय भइरहेको छ ।” करीव दुई हजार वर्ष अघि नीतिशतकमा भर्तृहरीले वृद्धको जीवनबारे यसरी भनेका थिए । जुन कुरा आजका वृद्धवृद्धाहरुका नीम्ति पनि अक्षरश ः सत्य प्रमाणित भएको छ ।
आफ्ना बाआमा र मान्यजनहरुबाट आफू बालक वा युवावस्थामा छँदा लामो आयु होस्, दीर्घ जीवन होस्, चिरंजीवी भएस्, भनेर आशीष पाएका व्यक्तिहरु नै पनि वृद्ध र रोगी बन्दछन् । “तिम्रो उमेर लामो होस्, चिरंजीवी भएस्” भन्ने आशीक नै अभिशाप बन्दछ । मानवसमाजको शाश्वत नियति— सत्य यही हो त ?

प्रकृतिको नियम नै हुन्छ— रुखबाट पहेँला पात झर्छन् र नयाँ कोपिला पालुवा पलाउँछन् । रुख चाहिँ मर्दैन । तर मानिसका जीवनमा प्रायः यस्तो प्राकृतिक नियम लागु हुँदैन । अर्थात् बाबु आमाले काम गर्न नसक्ने भएपछि, कमाइदिन नसकेपछि आफ्नै छोराछोरीबाट तिरस्कृत र अपहेलित बन्नुपर्छ । जुन सन्तानलाई जन्म दिएर पालनपोषण, पठनपाठन गरेर हुर्काइयो। समर्थ बनाइयो, उसैबाट अपमानित हुनुपर्छ आफैँले कमाएको सम्पत्ति पनि भोग गर्न पाइँदैन ।
आधुनिकता— उत्तरआधुनिकताको यस तीव्र गतिमान् समयको सबैभन्दा भयानक आव्रmमण ‘परिवारवाद’ मा भएको छ । सहरीकरण–औद्योगीकरण र विकासको दुष्प्रभाव संयुक्त परिवारमाथि प¥यो । मुलुकहरु विकसित भए तर परिवार र समुदायहरु भने ढुंगे युगतिरको एकल स्वार्थी रोगबाट ग्रस्त भए । संयुक्त परिवार श्रृंखला ध्वस्त भयो ।
विगतको संयुक्त परिवारभित्र चारपाँच पुस्ताको संयोजन रहन्थ्यो । वृद्धवृद्धा, प्रौढ, युवा बालबालिका सबैको सहभाव र सहअस्तित्व रहन्थ्यो ।

‘बुढाबूढी’ को ख्वाक् ख्वाक् र लौराको ठ्याक्ठ्याक् पनि घरको शोभा बन्दथ्यो । नातिनातिनाहरु घेरा लागेर कथा कहानी र संस्मरण सुन्थे । हजुरबा– आमासँग झ्याम्मिन्थे । केटाकेटीसँग खेल्न रमाउन पाएर बूढाबूढीहरु आनन्दित बन्दथे । छोराछोरी बुहारीहरु उनीहरुलाई सोधेर काम गर्दथे । कस्तो खाने, के खाने भनेर पहिले नै बुझ्ने गर्दथे । चिसो तातो– बूढाबूढीको इच्छाअनुसार पु¥याइदिन्थे ।

‘कृषि युग’ एकप्रकार बुढाबूढीका निम्ति स्वर्णिम युग थियो । आफ्नो कृषि शिक्षा, पशुपालन शिक्षा र सामाजिक व्यवहारिक शिक्षा बाबुले छोराछोरीलाई दिन पाउँथे । समर्थ बनाउँथे । आमाले छोरी बुहारीलाई गृहस्थी धर्म कर्मको शिक्षा दिन्थिन् । यसरी दुवैपक्ष सन्तुष्ट र सुखीखुसी रहन्थे । अन्नबालीको बीउ रोप्नेदेखि पाकेपछि थन्क्याउनेसम्मको सम्पूर्ण ज्ञान परम्परबाट प्राप्त हुन्थ्यो । पशुपालन सम्बन्धी ज्ञान परम्पराबाटै प्राप्त हुन्थ्यो ।

आजको औद्योगिक युग, विकासयुग, अन्तरिक्षीय युगले सम्पूर्ण परम्परित श्रृंखला ध्वस्त पारिदिएको छ । यतिबेला गाउँ पनि गाउँजस्तो रहेन । सबै सहरमुखी बन्दैगए । गाउँले परम्परा पनि समाप्त भएको छ । यता तीनदशकदेखि धेरै भत्किन थालेको हो— गाउँ परम्परा । यूरोप अमेरिकातिर द्वितीय विश्वयुद्धपछि करीब साढे छ दशक अघिबाटै भत्किन थालेको भए पनि नेपालमा चाहिँ २०३६ पछि विकसित हुँदै २०४६ र २०६२ ०६३ यता तीव्ररुपमा ध्वस्त हुन थालेको हो ।
छोराछोरी, बुहारी वा नातीनातिनासँगको सम्बन्ध पनि कृत्रिम बन्दैगएको छ । बूढाबूढीसँग केही समय बसेर उनीहरुका कुरा सुनिदिने फुर्सद हुँदैन । नातीनातीनालाई पनि आफ्नो कुरा सुनाउँन पाउँदैनन् । पुराना कथा संस्मरण सुनाउनुहुँदैन । छोराछोरी बिगार्ने भए बूढाबूढीले भनेर उल्टै गाली खानुपर्छ । त्यस्ता थोत्रा कुरा सुनाएर, केटाकेटीको होमक गर्ने समय खेर फालिदिनु पनि भएन ।

वृद्ध बुबाआमा जोडी छउन्जेल त वल्लोपल्लो खाटमा बसेर, पिढीँमा बारदलीमा बसेर पुराना कुरा सुन्दै सुनाउँदै एकअर्काको मन, बह पोख्न सुन्न सुनाउँन पाउँदछन् । जसले गर्दा मन धेरै हलुका हुन्छ । पारिवारिक तिरस्कार पनि परस्पर बाडिन्छ ।

जब बूढा या बूढीमध्ये एउटाको निधन हुन्छ , त्यसपछि भने एक्ला बूढाबूढीहरुको जीवन अत्यन्तै कष्टमय बन्दछ । सामाजिक, पारिवारिक, अवस्था ज्यादै दुःखमय बन्दछ । लामो जीवनसँगसँगै बिताएका दुई जीवनबीच एकअर्काका मन भावना बुझ्ने बुझाउने र आफ्नो पीर विरह सुन्ने सुनाउने ठाउँ हुन्थ्यो । बूढाले बूढीको आफ्ना भावना, चाहना बुझ्दथ्यो । बूढीले बूढाको इच्छा बानीबेहोरा अनुसारको काम गरिदिन्थी । तर एक्लिएपछिको स्थिति बडो भयानक हुन्छ । कसलाई सुनाउने आफ्नो पीडा । घरपरिवारभित्रै सुनिदिने हुँदैनन् । छरछिमेकमा गएर बोल्नै भएन । केही भनिहाल्यो भने घरभित्र रडाको मच्चिन्छ ।

“तिमीलाई, खान, लाउन दिएको थिएन कि ! के नपुगेर गाउँभरि रुँदै बिलौना गाउँदै हिँडेका त्यो …………… फलानासँग के छ हँ । त्यो फलानीलाई के के सुनायौँ । बूढाबूढीले त चुप लागेर एउटा कुनामा बसिराख्नु नि ! दसतिर लखरलखर किन हिँड्नुप¥यो । फेरि यसरी वरपर गएर बिलौना गरेको थाहा पाइयो । भने जानेको छ, के गर्नुपर्छ । आफ्नो टुंगामा बस्नुपर्छ, र मात्रै हेरिन्छ ।” आँसुका घुट्का पिउँदै छोराबुहारीबाट यस्ता कुरा सुन्नुपर्छ बूढाबूढीले ।

त्यसकारण यस्ता वृद्धवृद्धाहरुका अनुभव, ज्ञान र सीपहरुको संरक्षणका निम्ति प्रयोग गर्ने ठाउँ बनाइदिएर सम्मानपूर्ण जीवन बिताउन सक्ने अवस्था सिर्जना गर्नु नितान्त आवश्यक छ । नेपालमा भर्खरै प्रकाशित जनसाख्यिकी तथ्याङ्कअनुसार ६० वर्ष माथिको जनसंख्या करीव २० प्रतिशत पुगेको छ । यति ठूलो वृद्धसंख्यालाई व्यवस्थित ढंगबाट बस्ने बसाउने र उनीहरुको सम्मानपूर्ण जीवन यापनको व्यवस्था नगरिदिने हो भने आगामी दिनमा धेरै ठूलो संकट उत्पन्न हुनसक्छ । यस कुरालाई पारिवारिक समस्या मात्र हो भनेर सरकारले पन्सिन मिल्दैन । वृद्धावस्था भनेको राष्ट्रिय समस्या हो । त्यसकारण यसको समाधानमा राष्ट्रले नै पहल गर्नुपर्छ ।

उच्चवर्गिय– अर्थात् साहू– महाजन, उद्योगपति अथवा सचिव, संवैधानिक प्रमुख, न्यायधीश, प्रहरी, सेनाका उच्च हाकिम, संस्थान् प्राधिकरणहरुका उच्च पदाधिकारी भएर अवकाश पाएका वृद्धहरुको दिनचर्या अत्यन्तै पीडादायी हुन्छ । प्राय ः यस वर्गका आफन्त वा छोराछोरीहरु विदेशमा हुन्छन् । ठूलाठूला घरकम्पाउण्डभित्र बुढेसकाल खुम्च्याएर बसेका यी बूढाबूढीहरुको जस्तो कष्टकर जीवन तल्लावर्गहरुको हुँदैन ।
संचारमाध्यम पत्रपत्रिका, रेडियो टीवी आदिमा पनि वृद्धवृद्धाका निम्ति कुनै सामग्री प्रसारित गरिदैन । महिला, बालबालिका, मजदूर, विद्यार्थी लगायतका बारेमा मात्र होइन, तेस्रो लिंगी समेतका लागि कार्यक्रमहरु संचालित हुन्छन् । तर वृद्धवृद्धाका समस्याबारे कोही पनि बोलिदिँदैन । त्यस्तै स्वास्थ्यक्षेत्रमा पनि, महिला बालबालिकाका निम्ति छुट्ट्रै व्यवस्था छ तर वृद्धका निम्ति संचालन गरिने कार्यक्रम कतै पनि व्यवस्था छैन । डाक्टरको, स्वास्थ्यसेवाको सबभन्दा बढी आवश्यकता यिनै वृद्धवृद्धालाई पर्दछ ।

नेपालमा वृद्ध समाज बनाएर विभिन्न अध्ययन, अनुसन्धान र वृद्धसम्बन्धी कार्यक्रम संचालन हुनुपर्ने । त्यस्तै वृद्धहरुका निम्ति छुट्टै प्रेक्षागृह पुस्तकालय । सभाभवन, विभिन्न आध्यात्मिक सांस्कृतिक केन्द्रहरु बनाउनु आवश्यक छ । वृद्धवृद्धाहरुले सम्मानपूर्ण जीवन बिताएर सम्मानका साथ संसारबाट बिदा पाउन सक्नुपर्छ ।

युरोप, अमेरिका जापानजस्ता विकसित देशहरुमा भने— वृद्धवृद्धा अर्थात्, जेष्ठ नागरिकका निम्ति निजीक्षेत्र र सरकारी पक्षबाट सुविधायुक्त आवसहरुको व्यवस्था गरिएको हुन्छ । यहाँ यस्तै एउटा उदाहरण दिन उचित होला ।

वृद्धहरुका निम्ति काम गर्ने भनेर सन् १९८५ तिर ग्रे पेन्थर नामबाट पश्चिम जर्मनीको म्युनिखमा वृद्धाश्रम खोलिएको छ । त्यसो त जर्मनीमा प्रत्येक टोलमा वृद्धावासको व्यवस्था छ । प्राय ः रिटायर्ड व्यक्तिहरु यस्ता आवासमा बस्ने गर्दछन् । केही निश्चित रकम दिएपछि प्राय ः यस्ता वृद्धहरुले केही काम गर्नुपर्दैन । सबै सेवासुविधा प्राप्त हुन्छ । सरकारी र निजी क्षेत्रबाट संचालित दुवै खाले वृद्धावास छन् जर्मनीमा । यस्ता आवासमा मनोरञ्जनात्मक कार्यक्रमका साथै विशेष खालका आयोजना गरिन्छन् । प्रतियोगिता गराइन्छ । बगैँचाको हेरचाह, बालबालिकालाई पढाउने जस्ता कामको पनि व्यवस्था मिलाइएको हुन्छ ।

जर्मनीमा यस्ता संस्थामध्ये ग्रेप्यान्थर नामबाट एउटा विशेष प्रकारको संगठन बनाइएको छ । वृद्धहरुका निम्ति वृद्धहरुद्वारा खोलिएको संगठन हो यो । गे्रप्यान्थे– र ग्रेस्लेटजस्ता हरियो कपाल भएका तर प्यान्थर– चितुवा जस्तै फुर्तिलाहरुको संगठन । विशेष गरी अवकास प्राप्त उच्च तहका व्यक्तिहरु यस संगठनका सदस्य बन्ने गरेका छन् । यी संगठनहरुले वृद्धहरुको सामाजिक हित रक्षा गर्दछन् । यस संगठनका सदस्यहरुमध्येबाट निर्वाचनद्धारा दुई जना प्रतिनिधि जर्मनी संघीय संसदमा समेत पठाउने गरेका छन् । यस संगठनका सदस्यहरु स्वाभिमानी र आत्मनिर्भर रहन्छन् ।

Subscribe to our weekly newsletter

    Give us a follow